राजनीति, लुम्बिनी प्रदेश

नेकपा एमाले लुम्बिनीले बुझायो लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र

नवलपुर टुडे
२०८० मंसिर २५ | मध्यान्ह ०४:०८ बजे

बुटवल । लुम्बिनीमा बेथिति बढेको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता लीला गिरि नेतृत्वको प्रतिनिधि मण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा सरकारको काम गर्ने शैली, अपारदर्शी र असन्तुलित रहेको उल्लेख छ । यस्तै प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोश बढिरहेको ज्ञापनपत्र भनिएको छ । 

एमालेले महँगी वृद्धि रोक्नेदेखि सरकार विस्तारको नाममा हुने मन्त्रालय विभाजन पनि रोक्न माग गरेको छ । यस्तै दीर्घकालीन योजना रोकिँदा महत्त्वपूर्ण योजनाहरू प्रभावित भएको, अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएको एमालेले बताएको छ ।   

पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र बिचौलिया पोस्ने गरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको विकासमा पर्न गएको एमालेको आरोप छ । यस्तै प्रदेश सभामा विषयगत समितिहरू गठन  नगरिएको, प्रदेश सभाका बैठकहरू नचलेका,   मिनी सभाका रूपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरूलाई  नेतृत्वविहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेको धारणा छ ।

सरकारले प्रतिपक्षी दलसँग गरेका सहमतिहरूको कार्यान्वयन गर्नेतर्फ तदारुकता नदेखाएको, प्रदेशमा बेथिति र मनपरीलाई आत्मसात् गरिनुले   जनतामा निराशा मात्रै बढाइरहेको एमालेको दाबी छ ।

12

 

कमेन्टहरु