रिडी राम्दी पाल्पाली समाजले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान


काठमाडौं, मंसिर २० गते । रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
२०७९ सालको एसईई परीक्षामा पाल्पा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्येबाट उत्कृष्ट अंक ल्याउने देवबाणी संस्कृत तथा साधारण मावि तानसेनकी ममता भट्टराई सम्मानित हुनुभयो । त्यस्तै, पाल्पाबाट २०८० सालको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने राम मावि राम्दीकी बिपिना न्यौपानेलाई समाजले छात्रबृत्ति पुरस्कारस्वरुप जनही १० हजार रुपियाँले सम्मानित छ ।
कार्यक्रममा पुनरावेदन अदालतका पूर्व न्यायाधीश तथा साहित्यकार कृष्णप्रसाद बस्याललाई न्याय सेवा तथा नेपाली साहित्यको क्षेत्रमा गर्नुभएको योगदान बापत सम्मान प्रदान गरिएको छ । सो अवसरमा यस बर्ष समाजका लागि आजीवन सदस्यता लिने सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
पूर्व प्रधानन्यायाधीश एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार रुद्रनाथ बस्याल, समाजका संस्थापक अध्यक्ष यज्ञप्रसाद बस्याल, पाल्पाली संगमका उपाध्यक्ष केशवराज आचार्य तथा पुरस्कृत तथा सम्मानित ब्यक्तित्वलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
बिभिन्न पेशा तथा रोजगारीका सिलसिलामा पाल्पाबाट काठमाडौंमा आई बसोवास गर्ने पाल्पालीको बिचमा आपसी सहयोग तथा भातृत्वको विकास गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको रिडी राम्दी पाल्पाली समाजले काठमाडौं तथा पाल्पा जिल्लामा छात्रबृत्ति, स्वास्थ्य शिविर, समाज कल्याणका बिभिन्न कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम गर्दैआएको छ।























