कांग्रेस नवलपरासीका जिल्ला सचिब कुलदीप आचार्य बैंकिङ कसुर मुद्दामा फरार


नवलपरासी, मंसिर १९ । पश्चिम नवलपरासी कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्य बैकिङ·कसुर सम्वन्धी मुद्दामा फरार रहेका छन । पश्चिम नवलपरासी बर्दघाट- ९, पन्चनगर निवासी आचार्यले बर्दघाट- ४ स्थित सिद्धबाबा बहुउदेश्शीय सहकारी संस्था लिमिटेडबाट लिएको करिव ७५ लाख रुपैया बर्षोदेखी नतिरेको आरोपमा सहकारीले ठगी एवं बैकिङ·कसुर सम्वन्धी मुद्दा दर्ता गरेका थिए ।
आचार्यले सहकारीको नाममा तीन वटा चेक दिएका थिए । तीनै वटा चेक सहकारीले बोन्स गरेका हुन । उनले सहकारीबाट २०७१ सालमा ऋण लिएका थिए । सो समयदेखी सावा, ब्याज र किस्ता बुझाएका छैनन ।
सो पश्चात जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी पश्चात फरार भएको नवलपरासी प्रहरी प्रमुख काजी कुमार आचार्यले बताउनुभयो । उता सहकारीका अध्यक्ष जीतबहादुर श्रेष्ठले कांग्रेसी ब्यवसायी भएकै कारण उनलाई पक्राउ नगरेको आरोप लगाएका छन ।सार्बजनिक कार्यक्रममै देखिदै आएका आचार्यलाई देख्दासमेत प्रहरी मुखदर्शक बनेको देखिन्छ, अध्यक्ष श्रेष्ठले भने ।
जिल्ला अदालत नवलपरासीको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासीले गत असोज २१ गतेनै आचार्य बिरुद्ध पक्राउ पुर्जी जारी गरेतापनि कुलदीप आचार्यलाई पक्राउ गर्न प्रहरीले आलटाल गर्दै आएको सहकारी संस्थाको आरोप छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख काजी कुमार आचार्यसंग नवलपुर टुडेले बुझ्दा कुलदीप आचार्य अदालतबाट पक्राउ पुर्जी जारी हुन साथ सम्पर्कमा नरहेको र फरार रहेको तर, जुन सुकै समयमा कुलदीप आचार्य कानुनी कठघरामा उभिनु पर्ने र उनले उन्मुक्ती नपाउने जानकारी दिनुभयो ।
आचार्य कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला गुट निकट मानिने ब्यवसायी हुन । आचार्यले रकम लिएर पनि सहकारी संस्थालाई पैसा नभएको चेक दिएर झुक्याएर उल्टो सहकारीका कर्मचारीहरुलाई सहकारी ऐनको पाठ सिकाउने गरेको सहकारीको आरोप छ । सहकारी संस्थाले आचार्यसंग रकम माग गर्दा राजनीति शक्तिको आडमा उल्टै संस्थाको गोपनियता बाहिर ल्याउने भन्दै धम्कीसमेत दिएको सहकारी संस्थामा कार्यरत कर्मचारीले बताएका छन् ।
आचार्य यसअघि पनि करीव ६ महिना अघि झापा प्रहरीको टोलीबाट नवलपरासीबाट पक्राउ परी जिल्ला अदालत झापाबाट लेनदेन मुद्दामा धरौटीमा रिहा भएका हुन् । व्यावसायिक आचार्यको नवलपरासी जग्गा र ईट्टा उद्योग यसैगरी धनगढीमा जग्गा जमिनको कारोवार रहेका छन् ।


















































