बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता


बर्दिबास, मङ्सिर १४ गते । बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ ।
नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटवल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो । खेल क्षमताको आधारमा खेलाडीहरुलाई तीन श्रेणीमा बर्गीकरण गरि सोही अनुरुप मासिक भत्ताका ब्यवस्था गरिएको छ । वर्गीकरणअनुसार ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक १५ हजार ‘ए’ श्रेणीलाई १० हजार तथा ‘बी’ श्रेणीका खेलाडका लागि मासिक सात हजार रुपियाँ भत्ता दिन सुरु गरिएको बर्दिबास नगर खेलकुद विकाश समितिले जनाएको छ ।
समितिका अध्यक्षका दीपेन्द्रकुमार शिवभक्तीकाअनुसार खेलाडी भत्ताबापात नगरपालिकाको मासिक तीन लाख रुपियाँ खर्च हुनेछ । यसकालागि बर्दिबास नगरपालिका तथा वर्गीकरणमा परेका खेलाडीवीच अभिभावकको रोहवरमा विहिबार लिखित सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाले आवश्यक खेल सामग्रीका साथै हरेक महिनाको १० गते खेलाडीलाई तोकिएको भत्ता उपलब्ध गराउने छ भने खेलाडीले सम्झौता पत्रमा उल्लेखित आचारसंहिताको अधिनमा रही नियमित खेल अभ्यास गर्नु पर्ने छ ।
नगर खेलाडी सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख प्रहलाद क्षेत्रीले अनुदान कटौतीका कारण नगरपालिका वित्तिय संकटमा परेको अवस्थामा पनि खेलकुदको संस्थागत विकाश तथा खेलाडीको उत्साह र समुन्नतिका लागि मासिक भत्ताको ब्यवस्था गरेको बताउनुभयो । ‘‘नगरपालिकाले आर्थिक संकटको बाबजुद खेलाडीहरुले बर्दिबासको परिचय र पहिचान बढाउने उद्देश्यले खेलाडीहरुलाई नियमित अभ्यास र उत्कृष्ट खेल प्रदर्शनका लागि मासिक भत्ता दिने ब्यवस्था गरिएको हो’’, नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत किरणनिधी तिवारी एवं शिक्षा तथा खेलकुद शाखाका अधिकृत रोमन निरौलाले खेलकुदका लागि चालु आवमा नगरपालिकाले विनियोजन गरेको ४० लाख बजेटमध्येबाट भर्पाई हुने गरि खेलाडीलाई मासिक भत्ताको ब्यवस्था मिलाईएको बताउनुभयो । मासिक भत्ताले खेलाडीहरुको प्रोत्साहन तथा खेलकुदको संस्थागत विकाशमा योगदान पुग्ने उहाँहरुले बताउनुभयो ।























