नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी


काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।
इपिएसमार्पmत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।























