पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष साहले दिए आमरण अनसनको चेतावनी


सिरहा, मंसिर १३ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष गणेशप्रसाद साहले छोरा परीक्षामा फेल भएपछि परीक्षा रद्द गरी पुन: अर्को परीक्षा लिन माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन ।
सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका हो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्षसमेत रहेका साहले बुधबार गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।
सिरहा गोलबजार नगरपालिकाले कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको पत्रकार साहले आरोप लगाएको छ ।
पत्रकार साहले आफ्नो छोराको कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोपसमेत लगाएका छन् । उनले भने, ‘मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।’ उनले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् ।
पत्रकार साहले आफ्नो माग मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनीसमेत दिएका छन् ।























