कृषि विश्वविद्यालयको विभिएस्सीको प्रवेश परीक्षामा नवलपुरका पौडेल नेपाल प्रथम


गैंडाकोट, मंसिर १२ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु चिकित्सव संकायतर्फ लिएको स्तातक तहको प्रवेश परीक्षामा नवलपुरका दिवेशप्रसाद पौडेलले एक नम्बरमा नाम निकाल्नुभएको छ ।
रामपुर कृषि क्यापसले लिएको ‘विभिएस्सी’ को प्रवेश परीक्षामा नवलपुर गैंडाकोट नगरपालिका- १ का पौडेलले सबै र्याङ्क १ मा नाम निकाल्दै नेपाल प्रथम हुनुभएको हो ।

नर्सरीदेखि कक्षा १० सम्म गैँडाकोट नगरपालिका- १ को नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका पौडेलले कक्षा ११ र १२ गैंडाकोट नगरपालिका- २ स्थित रहेको अक्सफोर्ड माध्यमिक विद्यालय (अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट) मा अध्ययन गर्नुभएको थियो ।
विश्वविद्यालयले प्रकाशित गरेको प्रवेश परीक्षाको नतिजा अनुसार पौडेलले कुल १०० अंक प्राप्त गर्दै एक नम्बरमा नाम निकाल्न सफल हुनुभएको हो । चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु चिकित्सा संकायको पाँच बर्षे कोर्षका लागि पौडेलले पुर्णछात्रवृतिमा नाम निकाल्न सफल हुनुभएको अक्सफोर्ड कलेजले जनाएको छ ।

कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गरेका पौडेल शुरुदेखिनै अध्ययनमा समेत अब्बल रहेकाले पुर्णछात्रवृत्तिमा नाम निस्कदा कलेज परिवार हर्षित भएको बताउनुभयो । कलेजले विद्यार्थीहरुलाई शैद्वान्तिकसंगै व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको भण्डारीको भनाई छ ।
विश्वविद्यालयमा एक नम्बरमा नाम निकाल्न सफल पौडेलले पशु चिकित्सक भएर ग्रामिण क्षेत्रमा बसेर सेवा गर्ने आफ्नो सपना रहेको बताउनुभयो । आफ्नो सफलताको सम्पुर्ण श्रेय कलेज र विद्यालय परिवारको भएको भन्दै पौडेलले कलेजका शिक्षकहरुको सहयोगका कारण नै आफू नेपाल प्रथम हुन सफल भएको बताउनुभयो ।























