बागमती प्रदेश

मकवानपुरबाट नरभक्षी बाघ नियन्त्रणमा, थप एक युवकको शव भेटियो

नवलपुर टुडे
२०८० मंसिर ११ | मध्यान्ह ०५:०८ बजे

मकवानपुर । गत शुक्रबार चितवनका हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट आइतबार राति नियन्त्रणमा लिइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीको टोलिले आइतबार राती ९ः४० बजे बाघलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

थप एक युवकको शव फेला
नरभक्षी बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट थप एक पुरुषको शव फेला परेको छ। आइतबार साँझ मनहरि– ६ स्थित राप्तीखोला र लोथरखोलाको दोभानमा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उक्त शव चितवन जिल्लाको राप्ती नगरपालिका– १ दुुबीचौरका १७ वर्षीय पुष्पराज तामाङको रहेको प्रहरीले जनाएको छ। मृतक पुष्पराजका बुबा इन्द्रबहादुर तामाङले मृतकले लगाएको पाइन्ट र चप्पलको आधारमा सनाखत गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

उक्त शवको शरीरको कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकाले बाघकै आक्रमणबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए।

नियन्त्रणमा लिइएको बाघलाई वन्यजन्तु केन्द्र चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। प्रवक्ता भण्डारीका अनुसार सेना र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट चारवटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गरिएको थियो।

उक्त बाघले गत शुक्रबार मकवानपुरको मनहरि गाउँपालिका– ६ खयर घारीदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्रमा चितवनको राप्ती– १ दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो।

कमेन्टहरु