गैंडाकोटको अक्सफोर्ड कलेजमा हल्ट प्राइज कार्यक्रम सम्पन्न


नवलपुर, १० मंसिर । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ म्यानेजमेन्टले हल्ट प्राइज कार्यक्रम गरेको छ । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा रहेको हल्ट प्राइजमा भाग लिन कलेजबाट सहभागी हुने विद्यार्थी छनौट गर्न कलेजले हल्ट प्राइजमा कार्यक्रमको आयोजना गरेको हो ।
आज आयोजित कार्यक्रममा सहभागी पाँछ वटा समूहमध्ये कलेजको बिसिएमा अध्ययनरत विद्यार्थीको मेटा अक्स समूह छनौट भएको छ । यस समूहले सेन्ट्रल एण्ड साउथ एसियामा सहभागिता जनाउन पाउने छ । यस प्रतिस्पर्धाबाट विजेता हुने समूहले ग्लोबल प्रतिस्पर्धामा भाग लिन पाउने र त्यहाँबाट छनौट भएमा फाइनल प्रतिस्पर्धामा भाग लिन पाउने कलेजको हल्ट प्राइज कार्यक्रम निर्देशक एवं कार्यक्रमकी अध्यक्ष समृद्धि मरासेनीले जानकारी दिनुभयो ।
हल्ट प्राइजको अन्तर्राष्ट्रिय विजेताले एक लाख अमेरिकी डलर पुरस्कर पाउने उहाँले बताउनुभयो । हल्ट प्राइज कार्यक्रम दिगो विकास सम्बन्धि विभिन्न १७ वटा विधामा विद्यार्थीहरुले आफ्नो व्यावसायिक प्रस्तावना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ । व्यवसायिक सँगै सामाजिक रूपमा समेत फाइदा पुर्याउने प्रस्तावनालाई हल्ट प्राइज प्रदान गरिँदै आएको छ ।
आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनियर हरि भण्डारीले नेपालको अहिलेको समस्या भनेको भ्रष्टाचार र बौद्धिक पलायन भएको बताउनुभयो । नेपालबाट विदेशीले युवाहरूको क्रमलाई रोक्न सकेमा देशको विकास हुने उहाँको भनाइ छ । हल्ट प्राइजमा छनौट हुने विद्यार्थीले समूले आफ्नो ब्यवासायिक प्रस्तावनासंगै स्थानीय विषयलाई समेत समावेश गर्न उहाँले सुझाव दिनुभयो ।
अक्सफोर्ड कलेजले इलेक्टि्रकल इन्जिनियरिङ उत्तीर्ण गरेका विद्यार्थीलाई जापानमा इलेक्टि्रकल इन्जिनियरको रूपमा पठाउनका लागि कम्पनीका प्रतिनिधिबाट भोलि सोमबार कलेजमा अन्तर्वार्ता लिइने उहाँले बताउनुभयो । अन्तर्वार्ताबाट छनौट भएका उम्मेदवार कम्पनीमा छ महिनासम्म इन्टर्न गर्नुपर्ने र त्यसपछि आईटी इन्जिनियरको रूपमा नियुक्ति पाएर काम सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो ।
अक्सफोर्ड कलेजले केही दिन अघि जापानको कम्पनीमा नेपालबाट इन्जिनियर पठाउने विषयमा सम्झौता गरेर आएको भण्डारीको भनाइ छ । सो कार्यक्रममा कलेजका प्राध्यापक एवं मोटिभेसनल स्पिकर कृष्णहरि पौडेलले हल्ट प्राइजका लागि एउटै विषय दिने गरेकोमा हाल दिगो बिकासका बिषयमा १७ वटा बिषय दिएको बताउनुभयो ।
प्रतिस्पर्धआ सहभागी हुने विद्यार्थीले भबिष्यमा आफुलाई देख्न चाहेको स्थान पुग्नका लागि ब्यवसायिक प्रस्तावना बनाएर त्यसको प्रस्तुतिकरण गर्नुपर्ने बताउनुभयो । काम र मेहनतले भन्दा पनि मानिसलाई नवीन सोच र विचारले सफल बनाउने वहाँको भनाई छ ।
कार्यक्रमको निर्णायकको रुपमा एडभान्स टेक इन्डष्ट्रि प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर सुनीलकुमार यादव, इको विल्डर्स नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अणनाथ भण्डारी एवं चार्टर्ड एकाउन्ट महासंघ नेपाल बागमती प्रदेशका प्रमुख तथा युवा उद्यमी मंच चितवनका द्वितीय उपाध्यक्ष निशान पौडेल रहनु भएको थियो ।
समृद्धि मरासेनीको अध्यक्षतामा भएको कार्यक्रममा समृद्ध मरासेनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।























