एलआईसी नेपाल लिमिटेडको ठगि धन्धा विरुद्ध पीडितहरुले गरे गौर शाखामा तालाबन्दी


रौतहट, मंसिर ९ । एलआइसी नेपाल लिमिटेडले अभिकर्ता र विमाधारीसँग गरिएको ठगि धन्धा विरुद्ध पीडितहरुले गौर शाखामा तालाबन्दी गरेका छन् ।
सन् २०२० मा एलआईसी नेपाल लिमिटेडको गौर शाखामा कार्यरत तत्कालिन शाखा प्रबन्धक विपिन कुमार साहले सयौं विमाधारीहरुद्वारा खोलिएको विमा खाताको सक्कल डकुमेन्टहरु नष्ट गरेर उक्त रकमबाट नक्कली विमाधारीहरु खडा गरेर एक करोड भन्दा बढि रकम हिनामिना गरेको प्रमाणहरु फेला परेपछि सम्बन्धित निकायहरुमा एलआईसी नेपाल लिमिटेडको शाखा कार्यालय, प्रादेशिक कार्यालय र संघिय कार्यालयमा लिखित रुपमा उजुरी गर्दा पनि कुनै सुनवाई नहुँदा नेपाल विमा प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुमा चहार्दा चहार्दै थकित भईसकेपछि बाध्य भई प्रादेशिक कार्यालय जनकपुर र शाखा कार्यालय गौरमा ताला लगाउनु परेको पीडित सत्येन्द्र पाण्डेले गुनासो पोखे ।
अनुसन्धानको नाममा महिनौंदेखि अल्झाएर राखिएको र आफनो अवस्था निकै खराब हुँदै गएपछि स्थानीय प्रशासनलाई जानकारी गराई बाध्य भएर ताला लगाएको पाण्डले बताए । कतिपय विमाधारीको खाताहरु खोलिएको प्रमाणहरु भएपनि कम्पनीको सिष्टमबाट हटाइएको कार्य एकदमै निन्दनिय रहेको भन्दै निकै विश्वास गरेर विमा खाता खोलियो तर एलआईसी नेपाल लिमिटेडका मार्केटिंगको एचओडी प्रकाशबहादुर उपाध्याय, सुचना अधिकारी सुदर्शन गिरी र तत्कालिन शाखा प्रमुख साहको मिलोमतोमा विमाधारी र एजेन्ट दुबैलाई विल्लीबाठ बनाइदिदा बाध्यात्मक कदम उठाउनु परेको पाण्डले गम्भीर आरोप लगाए ।
आफ्नो समस्या समाधान गर्न पर्याप्त प्रमाणहरु हुँदाहुँदै पनि नेपाल विमा प्राधिकरण सहितका निकायहरुले सुरुमा केही चासो देखाएपनि एलआइसी नेपाल लिमिटेड संग साँठगाँठ गरेर समस्यालाई ओझेलमा पारेको गम्भीर आरोप लगाउँदै निलम्बित अभिकर्ता पाण्डेले पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपाल लिमिटेडका अध्यक्ष नरबहादुर घर्ती समेत उनीहरुसँग मिलेपछि यस्तो अवस्था सृजना भएको उनले गुनासो गरे ।
“हाम्रो मत लिएर अध्यक्ष बनेका नरबहादुर पेशागत बीमा अभिकर्ताको समस्या समाधान गर्नुको सातो एलआइसी संग मिलेपछि यस्तो अवस्था सृजना भएको हो” उनले भने । आफू सँग ताला लगाउने बाहेकको अर्को विकल्प केही नभएको बताउँदै जबसम्म पीडितहरुको समस्या समाधान हुँदैन तबसम्म एलआइसी नेपाल लिमिटेडको कर्तुतको भण्डाफोर अभियानलाई जारी राख्ने उनले चेतावनी दिए ।























