मुस्ताङको शौन्दर्य : छेमा ताल


भोजराज पाण्डेय
मुस्ताङ । मुस्ताङ जिल्ला एउटा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको जिल्ला हो भन्ने कुरा थाहा नहुने सायदै कोही होला । नेपाली मानचित्र र बिश्व मानचित्रमा मुस्ताङ जिल्लाको महत्वको बारेमा जति चर्चा छ त्यति नै चर्चा यहाँ भएका हरेक सम्पदाहरुको यहाँको समुदायमा आ-आफ्नै किसिमको छ । यहाँ भएका सांस्कृतिक, धार्मिक र पर्यटकीय र जैबिक सम्पदाहरुको अबलोकन एक वा दुई दिनको बसाईमा मात्र कदापी सम्भव छैन । यहाँको यात्रा गर्दै गर्दा यदि कसैले फुल चार्ज गरेको मोबाइल लिएर कुनै एउटा गन्तब्यमा यात्रा गर्न पुग्दै गर्दा त्यहाँ रहेका मनोरम दृश्य तथा आकृतिहरुको दृश्य मोबाइलमा कैद गर्ने चाहाना नमेटिदै या त दिन ढल्कि सक्छ या त मोबाइलको चार्ज सकिन्छ ।
कर्तब्य पालनको शिलशिलामा हिमाल पारीको जिल्ला मुस्ताङमा रहंदै गर्दा पनि मन भित्र “आजै त्यो स्थानमा पुग्न पाए हुन्थ्यो” भन्ने मनोकाँक्षा हुँदा हुँदै पनि कतिपय अबस्थामा यहाँ रहेका मनोरम प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको अबलोकन गर्ने इच्छा यधपी पुरा हुन नसक्दो रहेछ । जनताको सेवा खातिर हरपल तैनाथ हुनु पर्ने जिम्मेवारीका बीच पनि यदाकदा समय निकाली बिचित्र खालको भौगोलिक बनावट र अनुपम प्राकृतिक छटाहरुको दृश्याबलोकन गर्न पाउनु एउटा संयोग मात्र कदापी हुन सक्दैन । यो एउटा अबिष्मरणीय अवसर पनि हो ।
मलाई कहिले काहीं “नेपालको त्यति धेरै उत्तरमा हिमाल भन्दा पनि पारि रहेको मुस्ताङ जिल्लामा पुग्नु त फलामको चिउरा चपाए जस्तै नै हुन्छ होला” भन्ने लाग्दथ्यो । यदि सवारी र हवाई यातायातको सुगमता नहुँदो हो त यो उक्तिले काम गर्दथ्यो । तर सवारी साधन र हवाई यातायातको सुलभताको कारणले मुस्ताङ यात्रा अहिले हामी नेपालीहरुको लागि पानी पँधेरो जस्तै बनेको छ । पोखराबाट मुस्ताङ जिल्लाको सदमुकाम जोमसोम केबल छ, सात घण्टाको (बस तथा जीप) यात्रा मात्र नै हो । यो त्यति लामो, पट्यार लाग्दो र टाढाको यात्रा पनि होइन् र यात्रा गर्दा कदापी त्यस्तो अनुभूति पनि हुँदैन् । सडकबाट यात्रा गर्दा बीचमा म्याग्दी जिल्लामा रहेका अनुपम प्राकृतिक सम्पदाहरु, धार्मिक तीर्थस्थलहरुको दृश्याबलोकन गर्दै मुस्ताङ प्रबेश गरे पछि जोमसोम नपुग्दै लेतेको कालाबजारबाट देखिने धवलागिरी र मानापाथि हिमालको मनोरम दृश्यले नलोभिने को होला ? लेतेको ठ्याक्कै माथि पट्टी साच्चिकै अद्भुत तरिकाले धवलागिरी र मानापाथि हिमाल एक आपसमा मितेरी साइनो लगाए झैं गरि गालामा लगाएको मोतिको माला जस्तै चम्किएर सेताम्मे भई उभिएका छन् । दाहिने पट्टी शालिग्रामको लागि प्रख्यात स्वच्छ, सफा अनि कञ्चन कालीगण्डकी नदीको गढगढाहट, कोवाङ र मार्फाको प्राकृतिक र सांस्कृतिक एवं अनौठो धरातलीय शौन्दर्यको अबलोकन गर्दै गर्दा जो कोहीलाई पनि जोमसोम नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।
मुस्ताङ जिल्ला प्रबेश गर्न बित्तिकै साना ठूला जुनसुकै सवारी साधनको लागि सडकको अबस्था समेत सहज रहेको छ । मुस्ताङ जिल्ला प्रबेश गरेदेखि जोमसोमसम्मको धेरै जसो सडक खण्ड कालोपत्रे भैसकेको छ । कोभिड प्रकोप पश्चात थलिएको हाम्रो देशको पर्यटनलाई उजागर गर्न र पर्यटकीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि अनुपम प्राकृतिक शौन्दर्यताले भरिएको मुस्ताङ जिल्लामा रहेका प्राकृतिक, धार्मिक र अनौठो भौगोलिक अबस्थाको बारेमा साक्षात्कार हुने चाहाना हामी सबैमा रहनु देशको आन्तरिक पर्यटनको प्रबर्धनमा टेवा पुग्नु पनि हो ।
सदमुकाम जोमसोम पुग्ने बित्तिकै जो कोहीले पनि पुर्व दक्षिण स्थिर रुपमा सबैको मन लोभ्याउने गरि ७०६१ मिटर उचाईको सेतो सफा शीरमा ढाका टोपी लगाए जस्तो गरि निलगिरी हिमाल मुसुमुसु हाँसिरहेको जस्तो देख्न सकिन्छ । बास्तवमा भन्ने हो भने निलगिरी हिमालको शौन्दर्यतालाई मोबाइलमा कैद नगर्ने यहाँ भ्रमण गर्ने सायदै कोहि नहोला । सदरमुकाम जोमसोमबाट निलगिरीको फेदीसम्मको यात्रा खासै टाढाको बिषय पनि होइन । जोमसोमबाट पुर्व फर्किएर हेर्दा हातले नै छोइन्छ जस्तो पनि लाग्छ । हिड्दै जाँदा पनि दुई घण्टा जतिमा त हिमालको शीखरमा नै पुगिन्छ भन्ने अनुभूति पनि हुन्छ । तर, समुन्द्री सतहबाट उच्च स्थानमा रहेको भौगोलिक भुभागहरुको यात्रा पहाड तथा तराईको जस्तो सहज भने हुँदैन् । उच्च हिमाली भूभागमा अक्सिजनको कमि हुने हुँदा जो कोहीलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । हिमालको नजिक अत्यन्त चिसो हुने हुँदा अन्य शारीरिक समस्या पनि हुन सक्छ । तथापि प्राकृतिकतासँग जोखिमपुर्वक खेल्न रुचाउनेहरु निलगिरीको फेदीसम्म पुग्ने चाहाना हुँदा हुँदै पनि सडक सञ्जालको उचित ब्यवस्था नभएको कारण जोमसोमदेखि करिब सात किलोमिटर पुर्व दक्षिणमा रहेको धुम्बा तालसम्मको यात्रामा मात्र सीमित हुने गर्दछन् । यहाँसम्म की निलगिरीको फेदीमै रहेको प्रसिद्ध छेमा तालसम्म पनि नपुगि धुम्बा तालबाटै निलगिरीको दृश्य मोबाइलमा कैद गरि पर्यटकहरु वरैबाट जोमसोम तर्फ ओरालो लाग्दछन् ।
सदरमुकाम जोमसोममा पर्ने घरापझोङ गाउँपालिकाको ४ नम्बर वडामा पर्ने निलगिरी हिमालको फेदीमा रहेको प्रसिद्ध छेमा ताल एउटा अनुपम प्राकृतिक शौन्दर्यको नमूना हो भन्दा पनि हुन्छ । जोमसोमदेखि यहाँसम्मको दुरी करिव १६ किलोमिटर मात्र छ । जोमसोमको पारि रहेको टिनि गाउँ नजिक रहेको निलगिरी हिमालको पानी बगेर आउने ठाडो टिनि खोलाको किनारै किनार माथि उकालो सुरु हुँदा छेमा तालको यात्रा प्रारम्भ हुन्छ । त्यो पनि हिँउदमा मात्र सम्भव छ, किनभने बर्षायाममा खोलामा आउने बाढिले बाटोको ट्रयाक नै बिथोलि दिन्छ । खोलैखोला माथि गई पहाडी धरातल सुरु गरे पछि पहाडी भूभाग फोडेर बनाइएको साँघुरो सडकबाट पैदल तथा सवारी साधन दुबै बाट यात्रा गर्न सकिन्छ । पहाडको केहि माथि पुगे पछि कैसाङ स्थित जङगलको बीचमा रहेको नेपाली सेनाको उच्च सैनिक शिखर शिक्षालयको बाउन्ड्री शुरु हुनु अगावै जङगलबाट दाहिने तर्फ मोडिए पछि छेमा तालको लागि सांघुरो गोरेटो बाटोबाट भने पैदल यात्रा मात्र हुन्छ ।
उक्त स्थानबाट करिब एक घण्टाको यात्रामा निलगिरीको फेदीमा रहेको प्रसिद्ध र साँस्कृतिक महत्व बोकेको रमणीय छेमा तालमा पुग्न सकिन्छ । पैदल यात्रा नगरी गाडी बाटै अझ अगाडी बढी नेपाली सेनाको क्याम्प रहेको स्थानको पल्लो छेउमा गाडी रोकी ठाडै उकालो यात्रा गर्दा करिब ५० मिनेटमा सो तालमा पुग्न सकिन्छ । तालमा पुगे पछि प्राप्त हुने आनन्दको सीमा नै हुँदैन् । माथि पट्टी शान्त निलगिरी, बेलाबेला खस्ने हिँउका ढिक्काहरु, चिसो वातावरण, हीमालको फेदीबाट कलकल आवाजसहितको सफा कञ्चन पानी तालमा मिसिँदा देखिने दृश्य र तालको आफ्नै किसिमको शौन्दर्य एक बसाई र एक यात्रामा मात्र कदापी वर्णन गर्न सकिदैन् ।
शीरमा निलगिरी हिमाल, वरिपरि सालघारीको बीचमा रहेको छेमा तालको बेग्लै महत्व छ । यो ताललाई तालहरुको आमा पनि भनिन्छ । नेपालमा रहेका अरु तालहरुको नामाकरणको पछाडी त्यस्तो कुनै बिशिष्ट कारण देखिदैन । तर यसको छुट्टै महत्व रहेको छ । मानिस जन्मनु भन्दा अगाडी नौ महिनासम्म आमाको कोखमा रहेको हुन्छ । आमाको कोखमा रहने क्रममा बिकासक्रमको अबस्थामा चल्दा आमाको पेटमा खुट्टाले हानेको हुन्छ, त्यसरी अन्जानबश आमाको पेटमा खुट्टाले लागेको कारण पेटमै हुँदा जुन पाप र गल्ती मानिसले गरेको हुन्छ, त्यसको मोचनको लागि छेमा तालको दर्शन वा भ्रमण गरेमा आमाको पेटमा हुदा अन्जानबश गरेका पाप तथा गल्तीहरु छेमा हुन्छ अथवा त्यस्ता पाप तथा गल्तीहरुबाट मोक्ष प्राप्ती हुन्छ भन्ने भनाई रहेको छ ।
छेमा तालको भ्रमण गर्दै गर्दा बेलुकी पखको दृश्य साँच्चिकै अनौठो देख्न सकिन्छ । पोखरामा रहेको फेवा तालमा माछापुछ्रे हिमालको छाँया परे जस्तै यस तालमा पनि निलगिरी हिमालको छाँया नजिकबाट प्रष्ट रुपमा देख्न सकिन्छ । बेलुकीपख तालको डिलमा बसि हेर्दा बेलाबेलामा लाग्ने बेतोडको हावाको कारण तालमा रहेको सफा कञ्चन पानी हल्लिदा निलगिरी हिमाल नै हल्लिएको जस्तो अनुभूति हुन्छ । साथमा रहेको मोबाइल फुल चार्ज गरि तालको यात्रा गर्दा मोबाइलको चार्ज सकिदा पनि यस ताल तथा हिमाल वरिपरिको दृश्य मोबाइलमा कैद गर्ने चाहाना अझै मेटिदैन् ।
हुनत यसको क्षेत्रफल त्यति धेरै छैन् । सानो आकारका दुई वटा तालहरु एक आपसमा जोडिएर रहेको त्यहाँ देख्न सकिन्छ । तथापी ताल तथा त्यहाँको प्राकृतिक वातारणको शौन्दर्यता कुनै पनि पर्यटकको लागि कहिले डिलिट गर्न मन नलाग्ने गरी मोबाइलको वाल फोटो बन्न सक्दछ भने कवि तथा गीतकारको लागि अमुल्य र अनुपम खुराक बन्न सक्दछ ।
लेखक जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख(प्रहरी नायव उपरीक्षक (डीएसपी) हुनुहुन्छ ।























