पोखरामा मंसिर ७ देखि केपी ओली कप क्रिकेट हुँदै


पोखरा, मंसिर ४ । पोखरामा मंसिर ७ गतेदेखि केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन् ।
प्रतियोगितामा १२ टीमको सहभागिता रहने एकेडेमीको क्रिकेट विभाग संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले जानकारी दिए । त्रिभुवन क्लव, एपिएफ क्लव र नेपाल पुलिस क्लव सहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, कर्णाली र सुदूर पश्चिम प्रदेश पनि सहभागी हुनेछ । एकेडेमीले आफ्ना दुई टिम उतार्ने जनाएको छ ।
एकेडेमीले देशभरीबाट २ सय भन्दा बढी खेलाडीबाट टीम तयार गरेको गौचनले बताए । खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बी’ मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् ।
मंसिर १५ गते सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुईवटा खेल हुनेछन् । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका बीच प्रतिश्पर्धा हुनेछ ।
उपाधी विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।























