देश, धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन

नेपालको को–हजबेन्डले क्यानडामा जित्यो अवार्ड

नवलपुर टुडे
२०८० मंसिर ३ | बिहान ०७:०८ बजे

क्यानडा, (नेस)। नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र को–हजबेन्ड (सहायक श्रीमान) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ।

क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिभलमा को–हजबेन्डले तीन सय अमेरिकी डलरसहित शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो। मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सह–निर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसोसियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसोसियट प्रोफेसर क्रिस्चियन ह्यामन्सले को–हजबेन्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैह्रेलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ। अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट पाँच हजार मानवशास्त्रीको सहभागितामा यस वर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ। महोत्सवमा संसारभरिबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं फिल्म तथा वृत्तचित्रको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेन्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो।

 

Co husband ganesh panday canada1

विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ। नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफँैमा गर्वको कुरा हो। अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेन्डलाई सन्दर्भ सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराइदिने खबरले खुसी बढाएको छ। मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयलाई एउटा सन्दर्भ सामग्रीको रूपमा सुवर्ण अवसरसमेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामग्रीको रूपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा गौरवबोध भएको छ’ निर्देशक पाण्डेले भने।

निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका विभिन्न प्रतिष्ठित फिल्म महोत्सवमा अवार्ड जितिसकेको छ। बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरका सबै दाजुभाइले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ।

कमेन्टहरु