मधेश प्रदेश, समाज

लहान नगरपालिकाका मेयर महेश चौधरीको चर्को बिरोध

जगत ठाडा मगर
२०८० कार्तिक २८ | मध्यान्ह १२:०७ बजे

सिरहा । लहान १५ मा दलितको घरमा आगो बालेपछि मेयर महेश चौधरीको चर्को विरोध हुन थालेको छ ।

चाडपर्वको मध्यनजर गरि संयुक्त दलित संघर्ष समितिले विरोध जुलुस प्रदर्शन तत्कालको लागि स्थगित गरेको छ। स्थगित गरिएपनि आज कात्तिक २७ गते लहान १८ पोखरियागढमा गरिएको शुभकामना कार्यक्रममा संघर्ष समितिका कार्यकताले मेयर चौधरीविरुद्ध चर्को नाराबाजी गरेको हो।

शुभकामना कार्यक्रम विहान १० बजेतीर राखिएको थिए । सो कार्यक्रममा विरोध भएपछि दिउसो २ बजे मेयर पुगेका थिए । लहान नगरपालिका वडा नम्बर १८ ले आयोजना गरेको शुभकामना कार्यक्रममा वडाध्यक्ष मोहम्मद समशेरको आग्रहमा विरोध रोकिएको थियो ।

लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गामा जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन गर्दै आएको छ ।विरोध चलिरहेको अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको थियो ।

आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिटसमेत गरेको थियो । लहान नगरपालिकाविरुद्ध दलित संघर्ष समिति लहान लगायत नागरिक अगुवा आन्दोलनमा उत्रिएका छन्।

लहान नगरपालिकाले जबरजस्ती व्यक्तिगत जग्गामा दिसा जन्य फोहोर व्यवस्थापन गर्न भौतिक निर्माण थालेको छ। लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको कित्ता १०५ ९ ख नम्बरको १७ कट्ठा जग्गामा जबरजस्ती भौतिक निर्माण थालेपछि आन्दोलनमा गएको संघर्ष समिति लहानका सल्लाहकार रामगणेश दासले बताए।

वाटर एडको ४० लाखको सहयोगमा फोहोर व्यवस्थापनको लागि कम्पाउन्ड वालसहित भौतिक निर्माण गर्न थालेपछि विवाद खड़ा भएको छ। निर्माण कार्य रोक्न जाँदा दलित परिवारलाई नगरपालिकाले कुटपिट गर्दै आएको छ ।

यसैबीच, मेयर महेश चौधरीले यो जग्गा ऐलानी हो। त्यही भएर हामीले भौतिक निर्माण थालेको हो । हामीसंग पनि लालपूर्जा रहेको छ। “विरोध चलिरहन्छ विकासको काम अघि बढिरहन्छ मेयर चौधरीले बताए।

कमेन्टहरु