देश, सूचना / प्रबिधि

समस्या र समाधानकाे सूचि बनाएर काम गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

नवलपुर टुडे
२०८० कार्तिक २३ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छिन्। त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय पेस गर्न पनि उनले निर्देशन दिएकी छिन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आव २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले समस्या र समाधानका उपायलाई सूत्रद्धबद्ध गरेर अघि बढ्नुपर्ने बताइन्।

‘हामीले अब समीक्षा बैठकमा प्रगति गर्न सकेनौँ भनेर मात्रै हुँदैन, के कति कारणले प्रगति गर्न सकेनौँ भनेर समस्याको पहिचान गर्नुपर्छ’– उनले भनिन्– ‘राष्ट्रिय परिस्थितिका कारण कति हुन सकेन, अन्तरमन्त्रालय समन्वयको अभावमा कति हुन सकेन र मन्त्रालयभित्रकै समस्याका कारण कति प्रगति हुन सकेन, समस्यालाई तीन क्षेत्रमा बाँडेर समाधान उपाय पनि सूत्रबद्ध गर्न आवश्यक छ।’

पछिल्लो समयमा अन्तरमन्त्रालय समन्वयको समस्या बढी देखिएको भन्दै मन्त्री शर्माले यसमा सबै मन्त्रालयहरु गम्भीर हुनुपर्ने बताइन्।

‘कसैले लगानी बढाउनुपर्ने, कसैले घटाउनुपर्ने, कसैले जनशक्ति बढाउनुपर्ने, कसैले घटाउनुपर्ने विषयमा जोड दिँदा मन्त्रालयगत समन्वयको अभावमा काम हुन नसकेको जस्तो पनि देखिएको छ’– उनले भनिन्– ‘हामीले निकायगत र मन्त्रालयगत होइन, राष्ट्रिय स्वार्थमा विकास योजनाका काम गर्नुपर्छ, त्यसका लागि कहाँ के कति समस्या परेका छन्, कर्मचारी तहबाट पहिचान होस्, हामी राजनीतिक तहबाट समाधान खोज्ने छौं।’

अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर नगरी देशमा डिजिटल अर्थतन्त्रको विकास नहुने र समृद्धिको बाटो नखुल्ने भएकाले सबै निकायहरु परम्परागत सोचबाट माथि उठेर सूचना र प्रविधि क्षेत्रको विकासमा लगानी केन्द्रित गर्न तयार हुनुपर्नेका उनको जोड थियो।

कुनै निकायको नेतृत्वमा प्रश्न उठ्यो भने बाँकी निकाय काम गर्न डराउने प्रवृत्ति बढ्न थालेको प्रति सचेत गराउँदै उनले गल्ती पनि नगर्ने र काम गर्न डराउन पनि नहुने वातावरणको सिर्जना गर्नुपर्ने उल्लेख गरिन्।

कमेन्टहरु