कर्णाली प्रदेश

आठबीसकोटका मृतकका परिवारले पाए राहत

रासस
२०८० कार्तिक २१ | मध्यान्ह ०४:०७ बजे

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ।

आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो। सोही भूकम्पमा परेर वडा नं ९, १०, ११, १२, १३, र १४ का २८ घरपरिवारले आफन्त गुमाउनु परेको थियो।

आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरिया खर्च दिइएको छ। प्रत्येक मृतक परिवारलाई २५ हजारका दरले किरिया खर्च दिएको आठबीसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन्।

उनका अनुसार घरबारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको प्याकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ।

नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत पीडितका क्षेत्रमा लगेर वितरण गरिरहेको उप-प्रमख शाहीले जानकारी दिइन्।

भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुई जना गरेर ४४ जनाको मृत्यु भएकामा चार जना भने जिल्लाबाहिरका रहेको नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए।

त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई गाउँपालिकाले राहतसँगै २५ हजार किरिया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए। 

यहाँ १२ जनाको मृत्यु भएको थियो। गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीय क्षतिसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। 

कमेन्टहरु