सिरहामा पेस्तोलसहित तीन जना पक्राउ


राजेन्द्र महतो
सिरहा, कार्तिक २१ । सिरहामा सशस्त्र प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका- १ हाइवेबाट सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो।
सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका- ४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
हतियार बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलिले लहान नगरपालिका- १ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको १४ थान सिमकार्ड र नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरिएको छ।
यसैगरी उनीहरु सवार स ९ प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ।
पक्राउ परेका उनीहरु विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।























