कर्णाली प्रदेश

जाजरकोट भूकम्प: भेरीमा लगिएका २७ मध्ये १ को मृत्यु

नवलपुर टुडे
२०८० कार्तिक १८ | मध्यान्ह ०१:०७ बजे
नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि बाँकेको राझा एयरपोर्टमा शनिबार ल्याइपुर्‍याइएका जाजरकोट भूकम्पका घाइतेहरू।

नेपालगन्ज । भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जनाको उपचारका क्रममा मृत्यु भएकाे छ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।

भूकम्पमा परी घाइते भएका २७ जनालाई भेरी अस्पतालमा लगिएको थियो। एक जनाको मृत्यु भएपछि हाल २६ जनाको अस्पतालमा उपचार भइरहेको डा. रिसालले बताए। हेलिकप्टर/हवाई जहाजमा उनीहरुलाई अस्पतालमा पुर्‍याइएको हो।

भूकम्पबाट घाइते भएका व्यक्तिको उपचार गर्न भेरी अस्पतालमा विशेष व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

‘अहिलेलाई हामीले भेरी अस्पतालमा घाइतेको उपचार गर्ने व्यवस्था मिलाएका छौं, आवश्यकता अनुसार पछि अन्य अस्पतालमा पनि व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार व्यवस्था मिलाइएको बताए। अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए।

यसै गरी थप २२ जना घाइतेहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ। 

कमेन्टहरु