झापा गाउँपालिकाका अध्यक्ष तथा पूर्वउपाध्यक्षलाई भ्रष्टाचारमा तीन महिना कैद


झापा । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ। सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो।
भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी पनि दोषी ठहर भएका छन्। लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार नौ सय ६४ रुपैयाँ जरिवाना भएको छ।
गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रस्ट मिलेमतो नदेखिएको भन्दै उनले सफाइ पाएका छन्। आर्थिक वर्ष ०७४/७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो । २२ लाख आठ सय २३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेषले फैसला सुनाएको हो ।























