पर्सा प्रहरी माथि उठ्यो प्रश्न, अबैध सामग्री बोकेको ट्रक किन छाडियो ?


वीरगंज, कार्तिक १५ । जिल्ला प्रहरी कार्यालय पर्साले गत आईतवार १२ गते वीरगंज परवानीपुर सडक खण्डबाट अबैध चिनी र चामल बोकेको ट्रक पक्राउ गरेको भए पनि चिनी र चामल मात्र भन्सार कार्यालयमा बुझाई ट्रकलाई छोडेको घटना रहस्यमय बनेको छ ।
चिनी ५० के.जी.दरका बोरा १०१ बोरा तथा ३० के.जी.का दरले ३२३ बोरा चामल गरी करिब रू. ६,५८,३००।– छ लाख अन्ठाउन हजार तीन सय रुपैया बराबरका सामग्रीहरु वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरी पैठारी गरेर ल्याईएका अबैध चिनी र चामल बोकेको ट्रकलाई पर्सा प्रहरीले छोडदा अनेकन किसिमको शंका उपशंका उब्जाएको छ । बहुअर्वा भाठामा रहेका अनुज खाद्य उद्योगका सञ्चालक रामकिशोर साहले पछिल्लो समय चामलको ट्रकमा चिनीको तस्करी गराइरहेको प्रहरीलाई थाहा हुँदा हुँदै पनि ट्रक सँगै साहलाई पनि उन्मुक्ति दिएको हो ।
यस सन्दर्भमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कुमार विक्रम थापा सँग प्रतिक्रिया लिन खोज्दा उनले अबैध सामान हो भनि ट्रक ड्राईभरलाई थाहा नभएको र ट्रकको संलग्नता नदेखिएकोले छाडिएको बताए ।
जबकी रामकिशोर साहले भारतबाट अबैध तरिकाले चामल र चिनी लगायतका सामग्रीहरु मगाई आफ्ना उद्योगमा भण्डारण गरी भाडाको ट्रकबाट पठाउने गरेको जानकारी प्रहरीलाई राम्रो सँग थाहा भए पनि साह र ट्रकलाई उन्मुक्ति दिनुले पर्सा प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ ।
ट्रकमा बाहिरको भागमा चामल र भित्री भागमा चिनी राखिएको अवस्थामा फेला परेपछि ट्रक सहित भन्सार कार्यालयमा बुझाउनु पर्ने ठाउँमा प्रहरीले ट्रक छाडी चिनी र चामल मात्र बुझाएकोमा पर्सा प्रहरीको नियत माथि शंका उब्जिएको हो ।
स्थानियका अनुसार अनुज खाद्य उद्योग बहुअर्वा भाठाका सञ्चालक रामकिशोर साहले चिनी, चामल लगायतका सामग्रीहरु भारतबाट चोरी पैठारी गरी ल्याएर आफ्नै गोदाममा भण्डारण गर्ने गरेका छन् ।























