भ्रष्टाचारका अझै ठूला फाइल खुल्छन् : प्रधानमन्त्री प्रचण्ड


रुकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अझै ठूला–ठूला फाइल खोल्ने बताएका छन् । रुकुम पश्चिमको मग्मा पुगेका प्रधानमन्त्रीले सुशासन सरकारको पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारको अन्त्यका लागि सरकार कटिबद्ध रहेको बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पार्टीको तीनमहिने विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडानम्बर ६ र ७ को वडा समिति बैठकमा भाग लिन मग्मा पुगेका हुन् ।
‘तपाईंहरूलाई थाहा छ सरकारले मिटरब्याजीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेको छ, यो रोकिनेछैन,’ उनले भने, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु सरकारले अझ ठुल्ठूला भ्रष्टाचारका फाइलहरू खोल्नेछ ।’ यसका लागि सरकारले जनताको साथ खोजिरहेको उनले बताए । ‘मैले सरकारको नेतृत्व गरेपछि सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि जुन खालको आँट लिएको छु, यसमा तपाईं जनताहरूले अटुट साथ दिनुभएको छ, अझै ठूला फाइल खुल्दै छन्, तपाईंहरूको साथ अझै चाहिएको छ,’ उनले भने ।
अब सरकारले भू–माफिया र दलालका फाइलहरू खोल्ने उनले दाबी गरे ।
वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ
फरक प्रसंगमा उनले वर्तमान गठनबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरे । जुन उद्देश्यका साथ गठबन्धन बनेको हो सोहीअनुसार गठबन्धन अघि बढ्ने उनले बताए । कोशी प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने उनको दाबी छ । ‘कोशी प्रदेशको विकसित राजनीतिका कारण केन्द्रीय गठबन्धनमै असर पर्ने आकलनहरू गरिएको छ, त्यसो हुनेछैन, कोशीमा पनि गठबन्धनकै सरकार बन्नेछ,’ उनले भने ।
साथै, उनले देशमा आफू प्रधानमन्त्री भएपछि वैदेशिक लगानीसमेत बढ्न थालेको बताए । संयुक्त राष्ट्रसंघका महासचिवदेखि कतारका वादशाहसमेत नेपाल आउन लागेको प्रसंग उल्लेख गर्दै देशमा वैदेशिक लगानी बढ्दै गएको उनको भनाइ छ ।
जबजब संकट हुन्छ तबतब रुकुम पुग्ने गरेको छु
युद्धको तयारी, युद्धकाल तथा शान्ति स्थापनापछि आफूले संगठनको महसुस गर्दा रुकुम पुग्ने गरेको उनले सुनाए । ‘हिजो ०५२ सालअघि युद्धको तयारी गर्दा होस्, १० वर्षको युद्धकालको समय होस् वा ०६२/६३ पछिको शान्तिकालको कुरा होस, जबजब पार्टी वा देशलाई अप्ठ्यारो परेको हुन्छ, तबतब म रुकुम, रोल्पा आउने गरेको छु,’ उनले सुनाए ।
साथै, उनले अब समाजवादी क्रान्तिको नेतृत्व रुकुमले गर्नुपर्ने बताए । ‘हिजो युद्धको नेतृत्व रुकुम पश्चिमले गर्याे,’ उनले भने, ‘अब संविधानमै उल्लेख भएको समाजवादी यात्रा र माओवादी केन्द्रले सुरु गर्न लागेको समाजवादी क्रान्तिको नेतृत्व रुकुमले गर्नुपर्छ, हिजोको रुकुमको योगदानका आधारमा म ढुक्क छु, रुकुमले नेतृत्व गर्न सक्छ ।’
त्यस्तै, उनले प्रचण्डपथ छाड्दा पार्टी संकटमा परेकोसमेत बताए । पार्टी सुदृढीकरणकै लागि प्रचण्डपथलाई आफूले नै स्थगन गरेको, तर त्यसपछि पार्टी नै छिन्नभिन्न हुन पुगेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बताए ।























