लुम्बिनी प्रदेशकै पहिलो ट्राफिक लाईट रुपन्देही तिलोत्तमा मणिग्राममा जडान


बुटवल । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्ग सडक खण्ड अन्तरगत बुटवल बेलहिया सडक खण्डको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ ।
नगरपालिकाको मुख्य बजार रहेको मणिग्राम चोकमा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकैं पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले बताए ।
नगरकैं सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।
ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए ।
ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उहाँले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको बताए ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए । ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमैं नयाँ सन्देश दिएको बताउँदै उहाँले यो दुर्घटना न्यूनीकरणको लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
प्रदेश ट्राफिक प्रहरीले बुटवल—भैरहवा सिक्सलेन सडकलाई अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने÷गराउने सडकको रुपमा लिएको बताउँदै उनले ट्राफिक लाइट व्यवस्थापनले त्यसलाई सहज गराउने बिश्वास ब्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताए । ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त भएपछि ट्राफिक व्यवस्थापनमा प्रहरीलाई यसलाई सहयोग पुर्याउने उनको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्री, योजना प्रमुख प्रदीप वनलगायतले ट्राफिक लाइटको औचित्य र सडक अनुशासनको बारेमा धारणा राखेका थिए ।























