जिल्ला अस्पताल स्थापनाको ३१ वर्ष पुग्दा उपचारका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मीको एउटा दरबन्दी ल्याउन नसकेको भन्दै जिल्लाका नेतृत्वको आलोचना हुने गरेको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा निकसाइमन नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो ।
एनेस्थेसिया सहायक बिरामी हुँदा गत वर्ष पनि बेहोस बनाएर गरिने प्रसूति सेवा महिनाभन्दा बढी बन्द भएको थियो । विसं २०७९ भदौ २६ गतेबाट बन्द भएको सेवा असोज २७ गतेबाट पुनः सञ्चालन गरिएको थियो ।
दश स्थानीय तह रहेको जिल्लाको दिक्तेलमा सञ्चालित जिल्ला अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको राष्ट्रिय मानवअधिकार आयोगले समेत औँल्याएको छ । आयोगले गत बुधबार दिक्तेलस्थित आयोगको शाखा कार्यालयमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा आयोगका सदस्य मिहिर ठाकुरले अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको पाइएको बताए ।
“अनुगमनका क्रममा जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन । म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिककक्ष पुगेर जचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो”, उनले भने, “म आफैँले जीवनजल नपाउने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
अस्पतालको सेवा प्रवाहप्रति सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले भने जिल्ला अस्पतालमा भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेकाले प्रभावकारी सेवा प्रवाहमा केही समस्या भएको जनाएको छ ।
लामो समयसम्म १५ शय्यामा सञ्चालन भएको जिल्ला अस्पताल खोटाङमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । यसअघि शल्यक्रिया तथा बिरामी राखेर उपचार गरिने भवनलगायतका भौतिक संरचना हटाएर त्यस ठाउँमा ५० शय्याको सुविधासम्पन्न भवन निर्माणको काम तीव्रगतिमा भइरहेको पाइएको छ ।