इजरायल-हमास लडाइँ: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


तेल अविव (इजरायल), असोज २२ । इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय मानिसहरूको मृत्यु भएको छ । द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ ।
तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए । ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्छौं,’ उनले भनेका छन् । हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताएको छ ।
हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ । इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।
इजरायलले पनि प्यालेस्टाइनसँग सिमा जोडिएको भूभागदेखि ४ किलोमिटरसम्मका क्षेत्रबाट नागरिकहरूलाई स्थानान्तरण गरी अन्यत्र पठाएको छ । एजेन्सी























