शिक्षा

विद्यार्थी संगठनको अवरोधका कारण त्रिवि सेवा आयोगको अन्तवार्ता स्थगित

नवलपुर टुडे
२०८० अशोज १९ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं, असोज १९ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आजका लागि तय गरेको प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता अन्तिम समयमा स्थगित भएको छ । 

विद्यार्थी संगठनको अवरोधका कारण पूर्वनिर्धारित अन्तर्वार्ता रोकिएको हो । आयोगका प्रमुख केदारनाथ ढकालले सूचना प्रकाशित गर्दै सोबारे जानकारी दिए ।

सूचनामा नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिवि समितिले हिजो साँझदेखि सेवा आयोगको कार्यालय, विज्ञान डीन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय रहेको भवनको प्रवेशद्धारमा अनिश्चितकालिन तालाबन्दी गरेपछि अन्तवार्ता स्थगित भएको जनाइएको छ । 

आयोगले यसबाट अन्तवार्ताका लागि उपस्थित भएका उम्मेदवारलाई पर्न गएको मर्काप्रति दुःख व्यक्त गर्दै परिस्थिति सहज हुनासाथ अन्तवार्ता सञ्चालन गर्ने पनि जानकारी दिएको छ । 

आयोगको कार्यालयबाट वर्ष २०७७-०७८ मा प्रकाशित आन्तरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट विभिन्न पदको पदपूर्तिका लागि गरिएका विज्ञापनमध्ये यसअघि स्थगित भएका व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथिली विषयका प्राध्यापक र सहप्राध्यापक पदको बाँकी अन्तवार्ता गत असोज १४ गते सञ्चालन गर्ने कार्यतालिका छ । 

असोज १८ गतेसम्मको अन्तवार्ता भने सम्पन्न भइसकेको छ । तर, असोज १९ गते अन्तिम दिनको अन्तवार्ता भने विद्यार्थी संगठनको तालाबन्दीका कारण प्रभावित बन्न पुगेको हो ।

कमेन्टहरु