सरकारले लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


काठमाडौँ, असोज १४ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यका अनुसार पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने आचार्यले बताए ।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।






















