मनोरन्जन

रुसको महोत्सवमा मधेशको कथा: सरिता साह

पुरुषोत्तम सुवेदी
२०८० अशोज १३ | मध्यान्ह ०३:०६ बजे

काठमाडौ । विश्‍वका ४० ओटा देशहरूबाट १६९ ओटामा छनोट भएको ‘१०औँ जिरो प्‍लस अन्‍तर्राष्ट्रिय चलचित्र महोत्वस २०२३’ (10th Zero Plus International Film Festival 2023) मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ (The Notebook) पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स्’ (Short Live Action Films) श्रेणीमा प्रतिस्पर्दामा छनोट भएको छ । यो महोत्सव रूसको ट्यूमेन सहरमा अक्टोबर १ देखि ९ सम्म आयोजना हुँदैछ ।

यस फिल्मका निर्देशक सरिता साहले यस अघि बनाएको चलचित्र ‘फगुनिया’ले पनि Spiny Babler International Film Festival मा Best Director Award, 3rd IAWRT Nepal Short Film Competition मा 1st Position, Women’s International Film Festival Nigeria मा Honorable Mention बाट सम्मानित हुनुका साथै अन्य दर्जनौँ राष्ट्रिय-अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नोमिनेसन तथा आधिकारिक छनोटमा पर्न सफल भइसकेको छ । यसले सरिता साहलाई एक कुशल कलाकार हुनुका साथै एक अब्‍बल दर्जाको निर्देशकको रूपमा पनि उभ्याइदिएको छ । केही हप्ता अगाडि उनले आफ्नो युट्यूब च्यानलमार्फत ‘फगुनिया’लाई सार्वजनिक गरेकी छन् ।

(फिल्म यो लिङ्‍कमा हेर्न सकिन्छ – https://youtu.be/-m9i0fAQTDM?si=Bmqq_zkASUpq4RsL)

सरिता साह चलचित्र र रङ्‍गमञ्‍च दुबैमा पनि उत्तिकै पोख्त छिन् । उनी नेपाली रङ्‍गमञ्‍चमा एक कुशल अभिनेता/लेखक/निर्देशक हुन् जसले कथानक चलचित्र, लघु चलचित्र, व्यवसायिक, जनचेतनामूलक/सन्देशमूलक चलचित्रहरूमा काम गरिसकेकी छन् । समाजमा विद्यामान समस्या/मुद्‍दाहरू थुप्रै सन्देशमूल भिडियोको निर्माण पनि गरेकी छन् । उनले लू, काशीदेवी, ढकियामे नागरिकताजस्ता रङ्‍गमञ्‍चीय नाटकहरूको निर्देशन पनि गरिसकेकी छन् भने दर्जनौँ नाटकहरूमा आफ्नो कौसल प्रदर्शन गरिसकेकी छन् ।

रसिया जाँदै गरेको लघु-चलचित्र ‘द नोटबुक’का अर्को महत्वपूर्ण सर्जक हुन् अनिल कुर्मी, जसले यस चलचित्रको कथा र स्क्रिप्ट लेखेका हुन् । उनी पनि रङ्‍गकर्मी हुन् जसले विगत केही वर्षदेखि लघु-चलचित्रहरूमा लेखक/निर्देशक/अभिनेताको रूपमा काम गरिरहेका छन् । उनले पछिल्‍लो समय निर्माण गरेको लघु-चलचित्र ‘पछुवा – From The West’ ले निकै प्रशंसा पायो ।

यो चलचित्र देश र विदेशका विभिन्‍न चलचित्र महोत्सवहरूमा आधिकारिक छनोटमा परी प्रदर्शन भयो । यो फिल्म ‘The Content Nepal’ यूट्युब चैनलमा उपलब्ध छ ।

(फिल्‍म यो लिङ्‍कमा गएर हेर्न सकिन्छः https://youtu.be/rzIxwkMgYGY?si=buSi504ftqTtKtba)
रङ्‍गमञ्‍चबाट आफ्नो अभिनयको यात्रा सुरू गरेका अनिलले लू, घोडचड़ी, काशीदेवी, L.I.G. Picnic, जीजीविषा, ढकियामे नागरिकता, युद्धका घाउहरू २.० जस्ता नाटकहरूमा काम गरिसकेका छन् । केही हप्ता अगाडि उनी युद्धका घाउहरू २.० नाटकलाई एउटा महोत्सवमा प्रस्तुत गर्न श्रीलंका पुगेका थिए । यसरी आफ्नो रङ्‍गमञ्‍चीय यात्रालाई कायम राख्दै चलचित्र क्षेत्रमा भिज्‍न खोजेका अनिल कुर्मीले केही दिन अगाडि मात्रै ‘मनकी’ नामको शीर्षकमा एउटा अर्को लघु चलचित्रको घोषणा आफ्नो सामाजिक सञ्‍जालमार्फत गरे । यस चलचित्रमा सरिता साहको निर्देशन र अनिल कुर्मीको लेखन रहने छ भने आशा साहले मुख्य पात्रको भुमिका निर्वाह गर्दै छिन् ।

फेरी कुरा जोडौँ ‘१०औँ जिरो प्‍लस अन्‍तर्राष्ट्रिय चलचित्र महोत्सव’मा प्रतिष्पर्धा गर्दै गरेको चलचित्र ‘द नोटकबुक’को । २०७९ सालको वैशाख महिनामा निर्माण सम्पन्‍न भएको यस चलचित्रलाई आसमान नेपालले निर्माण, Royal Norwegian Embassy ले आर्थिक सहयोग गरेको हो भने सरिता फाउण्‍डेशनको प्रस्तुति हो ।

यस चलचित्रको छायाँङ्‍न धनुषा जिल्‍लाको बटेश्‍वरमा गरिएको हो र यसको उत्पादनको जिम्‍मा सम्हालेको हो नवलपरासीस्थित ‘कन्टेन्ट नेपाल प्रोडक्सन हाउस’ले । यस चलचित्रका सिनेमेटोग्राफर भुपेन चौधरीले नै यसको एडिटर र कलरिस्ट पनि हुन् ।

यस चलचित्रमा प्रमुख भुमिकामा साधना आलोक रहेकी छन् भने सुजिता साह, प्रदिप महतो, राम नरायण ठाकुर, राजेश सक्सेना, मन्‍जु महतो, विनोद सिंह, नबिन महतो, राजु सिंह, नन्दिनी कुमारी पंडित, कविता महतो, अस्मिता कुमारी महतो, आदित्य मिश्रा र सरिता साहले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्राविधिक टोलीमा नविन चापागाईँ र दिलिप सुनारको भुमिका महत्वपूर्ण रहेका छ भने निर्माण टोलीमा राजु सिंह, विजय दास र नविन महतो अहोरात्र खटेका छन् । यस चलचित्रको निर्माणमा धन्यवादका पात्र कृष्ण कुमार महतो र फुलगेन महतो पनि हुन् ।

“यस चलचित्रलाई ‘१०औँ जिरो प्‍लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा filmfreeway.com मार्फत २५ डिसेम्बर, २०२२ मा पेश गरिएको थियो र करिब ७ महिनापछि; जुलाई २०, २०२३ मा महोत्सवमा छनोट भएको आधिकारिक सूचना आयो ।” भन्दै यस चलचित्रका लेखक अनिल कुर्मी उत्साहित भए । आफ्नो आगामी योजनाको बारेमा जानकारी दिँदै उनले भने, “अब युट्यूब च्यानलमा काम गर्न मन छ । केही कन्टेन्टरहरूको आइडिया छ, त्यही आइडियाहरूमा काम गर्ने योजना बन्दै छ । सर्ट फिल्‍महरू त गर्दै जाने हो । ५-६ ओटा सर्ट फिल्मका स्‍क्रिप्टहरू तयार छन् । बिस्तारै फिल्म पनि बन्दै जान्छन् । हामी इन्डेपेन्डेन्ट तरिकाले काम गर्नेहरू सबैको अवस्था यस्तै हो । कथा छ, कौशल छ, गर्ने मान्छेहरू छन् तर पैसाको कुरो अड्किन्छ ।”

अब आउने समयमा अनिल कुर्मी र सरिता साहको संयुक्त सिर्जनामा केही लघु-चलचित्र हेर्न पाइने कुरा पनि उनले बताए । फूल-लेन्थको सोच राखेका अनिल कुर्मी र सरिता साहले पैनी पिक्चर्स (Painee Pictures) नामक युट्यूब चैनल पनि सुरू गरेका छन् ।

केही महत्वपूर्ण लिङ्‍कहरूः
10th Zero Plus International Film Festival: https://xn--k1aaeegn8esa.xn--p1ai/
PaineePictures (Channel): https://www.youtube.com/@paineepictures
The Content Nepal (Channel): https://www.youtube.com/@thecontentnepal
Sarita Foundation (Page): https://www.facebook.com/profile.php?id=100084341770402
लघु-चलचित्र ‘द नोट बुक’ आसमान नेपालको आधिकारिक युट्यूब च्यानल (Aasaman Nepal) मा पनि उपलब्ध छ । चलचित्र हेर्नको लागि यो लिङ्‍मा जानुहोलाः https://youtu.be/VbBHbwWP7iM?si=FGav_ArHsdvrW9TQ

कमेन्टहरु