सुर्खेतकाे बालवाटिका स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला


सुर्खेत, असोज १३ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सलाम उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार साँझ होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव अहिलेसम्म उठाइएको छैन । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।
त्यस क्षेत्रमा अहिले सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आफन्तहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडसमेत गरेका छन् । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । सञ्चालक समितिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।






















