मुख्य समाचार

गुल्मीमा नेपाल वायु सेवा निगमको उडानमा फेरबदल

इन्द्रजित नेपाली
२०८० अशोज १३ | बिहान १०:०६ बजे

गुल्मी । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ। निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ।

भाडा दरमा पनि फेर बदल गरी निगमले काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाडौँका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ । १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधवार बिहान ६: ३० मा काठमाडौँबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय तालिका निर्धारण गरेको छ ।

रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाडौँ आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्यो दिनको तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएको छ ।

यसअघि निगमले मङ्गलवार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाडौँ आएको थियो । गुल्मीमा मङ्गलवारको दिन धेरै मानिस घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावना अनुसार निगमले मङ्गलवारको ठाउँमा बुधवार सारेको हो ।

कमेन्टहरु