विद्यालय बन्दसहित आन्दोलनको कार्यक्रम अघि बढाउने शिक्षकहरूकाे चेतावनी


काठमाडौँ, असोज ११ । आन्दोलनरत शिक्षकहरूले विद्यालय बन्दसहित आन्दाेलनकाे कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । बुधबार दिउँसो आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा बाल विकास, पेन्सन वञ्चित, साबिक उच्च मावि, विद्यालय कर्मचारी लगायतका शिक्षक कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा बुधबार प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । सोही क्रममा केही शिक्षक घाइते भएका छन् ।
राज्यले समस्या समाधान गर्नुको साटो प्रहरी लगाएर आन्दोलन निस्तेज पार्ने काम गरिरहेको उनीहरूको आरोप छ । समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँद्वारा जारी विज्ञप्तिमा असहज परिस्थिति सिर्जना गरिए देशभरका विद्यालय बन्द गरेर आक्रामक ढंगबाट आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए ।
त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले समेत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । समितिले एक सर्कुलर जारी गर्दै भाेलिबाट टाउकोमा कालाेपट्टी बाधेर आन्दोलनमा सरिक हुने जनाएको छ ।
बाल विकास शिक्षकहरूले पनि आन्दोलनमाथि राज्यले दमन गर्ने नीति ल्याएको भन्दै देशभरका विद्यालय बन्द गरेर आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको हो ।























