बारामा गोली प्रहार गरी भारतीय युवकको हत्या


बारा, असोज १० । बारामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ ।
मंगलबार साँझ करिब सवा ६ बजे पचरौता नगरपालिका – ६ लक्ष्मिनियामा भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए । उनीसँगै मोतिहारी जिल्ला, दर्पा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।
लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि उनकै पछाडि बसेका सुजितले अजितलाई पछाडिबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटना लगतै चारैजना युवक सोही मोटरसाइकल चढेर भारततर्फ भागेका थिए । घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको थियो ।
मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।






















