नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै


काठमाडौं, असोज ९ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।
मङ्गलबार नेपाल एलपि ग्यास उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका हुन् ।
निर्देशक थानीले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको जानकारी दिए । उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयारी रहेको पनि जानकारी दिए ।
निर्देशक थानीले विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरुप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए । उनले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताए ।
निर्देशक थानीले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसावले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । उनले जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने जानकारी दिए ।
नेपाल एलपि ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीहरुलाई समस्या भइरहेको बताए । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्यास उद्योगले विभिन्न समस्या भोग्नुपरेको जानकारी दिए ।
उनले ग्यास उद्योगीहरुको नाफा १० वर्ष अगाडिको ३२ रुपियाँ अहिलेसम्म कायम रहेको बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्यास उद्योगीहरुलाई पाखा लगाएको आरोप लगाए ।






















