बाराको दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या


बारा, असोज ९ । नेपाल–भारत सिमानास्थित बाराको दशगजा क्षेत्रमा हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ ।
पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सिंह ६ महिना अघि मात्र जागिरबाट राजीनामा दिएर घर बसेका थिए ।
प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणामा लिएर सोधपुछ भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । मृतक सिंहको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे भारतीय समकक्षी सुरक्षा निकायसित समन्वय गरी गहिरो अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । काफ्लेका अनुसार भारतीय र नेपाली मदिरा व्यापारीहरू मिलेर रिसइबीले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।






















