गुल्मीमा घरको पिल्लर बनाउने क्रममा पहिरोले पुरिँएर १७ वर्षीय किशोरकाे मृत्यु


इन्द्र जित नेपाली
गुल्मी, असोज ८ । गुल्मीमा घरको पिल्लर बनाउने क्रममा पहिरोले पुरिँदा १७ वर्षीय किशोरकाे मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
यस्तै, पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक डोरबहादुरको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






















