रसुवाको बाढीपछि रविको अपिलः उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह


काठमाडौं, भदौ १०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरे ।
विपद्सम्बन्धी सूचना प्रवाह गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरे ।
उनले भने, ‘पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु ।’
रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय सहभागी हुन लामिछानेले निर्देशन दिए ।
उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरे ।






















