शिक्षक महासंघले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै

नवलपुर टुडे
२०८० अशोज ३ | बिहान ०६:०६ बजे

काठमाडौं, असोज ३ । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंं केन्द्रित आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी बनाएको महासंघको आरोप छ ।
महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् । महासंघले देशभरिका सबै विद्यालय बन्द गरी काठमाडौँमा सडक आन्दोलन सञ्चालन गर्न लागेको हो ।























