धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

करोडौं लागतमा निर्माण भएको गुल्मीको रेसुङ्गा पार्क अलपत्रमा

इन्द्रजित नेपाली
२०८० अशोज १ | बिहान ०७:०६ बजे

गुल्मी, असोज १ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा बनेको रेसुङ्गा पार्क निर्माण भएको करिब ८ महिना बित्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल(अर्जुन)न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरेको हो । पार्क निर्माण कार्य २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले सम्झौता मितिभन्दा एक महिना अगावै सम्पन्न गरेको थियो । सम्झौता अनुसार करिब ४९ प्रतिशत रकम भुक्तानी नहुँदा निर्माण कम्पनीले रेसुङ्गा नगरपालिकालाई आयोजना हस्तान्तरण नगरेको हो ।

निर्माण कम्पनीले काम सम्पन्न गरेको महिनौ हुँदा पनि भुक्तानी नपाउँदा गुल्मीको रेसुङ्गामा बनेको पार्क अलपत्र छ । भुक्तानी नपाउँदा निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको हो । गुल्मीको सदरमुकाम तम्घासको शिरमा र रेसुङ्गाको काखमा बनेको यो गर्जुरामा पार्क अवलोकन गर्न जानेहरु जान पाएका छैनन् ।

पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र भ्यूटावर, पीङ, पाँच वटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र व्याडमिन्टन मैदान, बीचबीचमा पैदल मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग लगायतका निर्माणको काम भएको छ ।

पार्कले रेसुङ्गासँगै धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्व बढाउने अपेक्षा लिइएको छ । पार्क निर्माणको लागि नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । आयोजनाको रकम भुक्तानी नहुँदा आफूहरुले थप आर्थिक क्षति व्यहोर्नु परेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र जिसीले गुनासो गरेका छन् ।

यसैगरी नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफू निर्वाचित हुनुअघिकै योजना भएको बताउँदै त्यो समयमा भुक्तानी हुनुपर्ने रकम पनि रोकिएको भन्दै आफूलाई दोषबाट मुक्त गर्ने प्रयास गरेका छन् । तत्कालिन मेयर तथा हाल लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले निर्माण कम्पनीलाई रकम भुक्तानी नभएको विषयमा सरकारसँग आग्रह गर्ने उल्लेख गरेका छन् ।

कमेन्टहरु