समाचार

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी, कोषाध्यक्ष रम्तेल पक्राउ

नवलपुर टुडे
२०८० भदौ २५ | मध्यान्ह ०९:०५ बजे

काठमाडौं, भदौ २५ । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । 

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राईसहित सात जनाविरूद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुमाथि बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप छ । 

गितेन्द्र राई (जीबी) समूहको पहिलो सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

प्रवक्ता विकका अनुसार सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको छ । सहकारीका कोषाध्यक्षमा कुमार रम्तेललाई प्रहरीले पक्राउ गरिसकेको छ । निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन् । 

कमेन्टहरु