दाङमा दृष्टिविहीन बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ


दाङ । दाङमा १३ वर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका कार्यालय सहयोगी पक्राउ परेका छन्। राप्ती गाउँपालिका – २ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ झरौनीका ४५ बर्षीय रामबहादुर खनाल छन्। उनी सोही विद्यालयले सञ्चालन गरेको बसका सहचालक पनि हुन्। उनीविरूद्ध बालिका बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि आज बिहान ८ बजे विद्यालयबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए। प्रहरी निरीक्षक सिंहका अनुसार ती बालिका विद्यालयकै छात्रावासमा बसेर पढ्छिन्।
गत भदौ ४ गते दिउँसो कोही नभएको मौका छोपेर खाना पकाउने कोठामा खनालले बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पीडित बालिकाले आमाको सहयोगमा शनिबार साँझ इलाका प्रहरी कार्यालय भालुवाङ पुगेर खनालबिरुद्ध किटानी जाहेरी दिएकी थिइन ।
पीडित बालिका विद्यालयको छात्रावासमा विगत चार वर्षदेखि बस्दै ब्रेल लिपीमा पढ्दै आएकी छन्। प्रहरी निरीक्षक सिंहले बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको र खनाललाई म्याद थपका लागि जिल्ला अदालत पठाइएको जानकारी दिए ।























