विश्व

सूर्यको अध्ययन गर्न नयाँ मिसन पठायो भारतले

नवलपुर टुडे
२०८० भदौ १६ | मध्यान्ह ०५:०५ बजे

भारत, भदौ १६ । भारतले सूर्यको अध्ययन गर्न पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ । शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले आदित्य-एल वानको सफल प्रक्षेपण गरेको हो ।

चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई सातामै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो । आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर ९९ लाख ३० हजार माइल० टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ । उक्त बिन्दुलाई एल वान भनिन्छ ।

यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ । प्रक्षेपण गरेको एक घन्टापछि इसरोले यसलाई सफल प्रक्षेपण भनेको छ । आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने बीबीसीले जनाएको छ ।

एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो । पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ । पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो । एल वान विन्दुमा स्थापित भइसकेपछि यसले सूर्यलाई निरन्तर अवलोकन गरिरहने इसरोले जानकारी दिएको छ ।

‘यसबाट सौर्य गतिविधिलाई अवलोकमा पहिलेभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ,’ इसरोले एक्समार्फत् भनेको छ ।

यसले वायुमण्डलको अध्ययन गर्नेछ । पृथ्वीबाट अध्ययन गर्न नसकिने विकिरणहरूको अध्ययन गर्ने बिबिसीले जानकारी दिएको छ । भारत सरकारले सन् २०१९ मा यो परियोजना स्वीकृत गरेको थियो । यद्यपि, नासा र युरोपियन स्पेस एजेन्सीले पनि यसअघि सूर्यमा मिसन पठाएको थियो ।

भारत अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्षयान अवतरण गर्ने पहिलो देश बनेको थियो । एजेन्सी

कमेन्टहरु