नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द

नवलपुर टुडे
२०८० भदौ १३ | मध्यान्ह ०२:०५ बजे

धनुषा, भदौ १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ । एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो ।
उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिएका हुन् । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि खेल सुरु हुँदै छ ।























