दुर्घटना, लुम्बिनी प्रदेश

नवलपरासीको बर्दघाट बजारमा बस पल्टिँदा ७ जना घाइते

जगत ठाडा मगर
२०८० भदौ १३ | बिहान ०७:०५ बजे

नवलपरासी, भदौ १३ । नवलपरासीको बर्दघाट नगरपालिका- ४ बर्दघाट बजारमा बस पल्टिँदा सात जना घाइते भएका छन् । बुधबार बिहान पौने ५ बजे काठमाण्डौदेखि नेपालगंजतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको यात्रु वाहक बस अचानक अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् ।

४० जना सवार उक्त बस सडकको दाहिने साईडमा पल्टिँएको हो । घाइते हुनेहरुमा बाकेको कोहलपुर नगरपालिका- ११ बस्ने बर्ष ६८ का जुद्ध बुढाथोकी, सोही ठाउँका वर्ष २८ की अनु चन्द, नेपालगंज उपमहानगर- १७ बस्ने वर्ष ४० का राजिव चौधरी र नेपालगंज उपमहानगर- १० बस्ने वर्ष ५८ का अमर बहादुर बुढा मगर रहेका छन् ।

यस्तै बर्दियाको बर्दिया नगरपालिका -५ बस्ने वर्ष ७३ का डिल्ली राम थारु, राजापुर नगरपालिका- २३ बस्ने वर्ष २३ का बिमल चौधरी र मधुवन नगरपालिका- ५ बस्ने वर्ष १९ की बिनिता मल्ल घाइते भएका छन् ।

घाईतेहरुलाई उद्धार गरी उपचारको लागी चिसापानी अस्पताल बर्दघाटमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिए । डिएसपी पाण्डेयका अनुसार बस दुर्घटनापश्चात चालक फरार रहेकाले खोज तलास भइरहेको छ ।

बस भने घटनास्थलमै रहेको छ । बसका अन्य यात्रुहरुलाई केही नभएकोले अर्को बसमा चढी गन्तब्य तर्फ गएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु