नवलपरासीमा भएको गोली काण्ड छानविन गर्न गृह मन्त्रालयद्धारा छानविन समिति गठन (घटना स्थलको भिडियो सहित)


नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानविन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । बुधबार बसेको गृहमन्त्री स्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।

समितिले बिहीवारदेखि काम थालेर ७ दिन भित्र रायसहितको प्रतिवेदन बुझाउने छ । समितिलाई जिल्ला स्तरबाट सत्य तथ्य र निष्पक्ष छानविनका लागि पूर्ण सहयोग रहने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत जाने खोज्दा प्रतापपुरका स्थानीय र शसस्त्र प्रहरीबीच बुधबार झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभरको शसस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनको उपचारको क्रममा बुटवल सिटी अस्पतालमा मृत्यु भएको थियो ।























