अपराध, लुम्बिनी प्रदेश

नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

जगत ठाडा मगर
२०८० भदौ १२ | मध्यान्ह ०६:०५ बजे

नवलपरासी, भदौ १२ ।  नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका २० वर्षीय राहुल कुर्मी रहेका छन्।उनलाई प्रतापपुर गाउँपालिका- ६ कठहवाका गौरीशंकर कुर्मीले आफ्नो छोरा बनाएर नागरिकता दिलाउन खोजेका थिए । उनले वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस र अन्य सबै कागजपत्र बनाएर इलाका प्रशासन कार्यालय सेमरीमा नागरिकता लिन पुगेका थिए।

नागरिकता बनाउन सेमरी पुगेपछि प्रशासनका कर्मचारीले शंका मानेर प्रहरी सर्जिमन गर्न पठाएपछि सर्जिमनमा स्थानीयले नक्कली छोरा राहुल गौरीशंकरका सालीका छोरा रहेको खुलेपछि पक्राउ गरेको हो । बुवा बनेका गौरी शंकरले केही महिनादेखि राहुललाई छोरा बनाएर नागरिकता दिलाउने प्रयासमा बाबु बनेर काजपत्र तयार गरेको स्थानीयले बताए । गौरीशंकरले भारतीय नागरिक साली र साडुको मृत्यु भएपछि सानै उमेरदेखि राहुललाई नेपाल ल्याएर पालेका थिए ।

राहुललाई जन्मदर्ताको प्रमाण पत्र गौरीशंकर आफैंले वडामा आएर छोरा हो भनेर सनाखत गरेपछि नागरिकताको सिफारिस दिइएको कार्यबाहक वडाध्यक्ष अवदेश यादवले बताए । यादवले कान्छा छोराको नागरिकता बनाउन आएका होलान भनेर सिफारिस दियौं। तर, राहुल भारतीय नागरिक रहेको बल्ल थाहा भयो,’ कार्यबाहक वडाध्यक्ष यादवले भने।

पक्राउ परेका राहुललाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ । उनको बयानका आधारमा गैरनागरिकलाई नागरिकता दिलाउन खोज्ने र सिफारिस गर्ने सबै क्रमशः अनुसन्धानको दायरामा आउने डिएसपी पाण्डेयले बताए ।

कमेन्टहरु