देश

निर्वाचन आयोगले दियो प्रधानमन्त्री ओलीलाई कारबाहीको चेतावनी

नवलपुर टुडे
२०७८ जेष्ठ ५ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले कारबाहीको चेतावनी दिएको छ ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भनेपछि आयोगले विज्ञप्ति निकालेर कारबाही गर्ने चेतावनी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।’

यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

जेठ ६ गते बिहीबार वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनको तयारी पूरा भएको पनि आयोगले जानकारी दिएको छ । जसका लागि मंगलबार राति १२ बजेदेखि मौन अधवि सुरु भएको छ । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए ।

राष्ट्रिय सभा सदस्यको वाग्मती प्रदेश उपनिर्वाचनमा वाग्मती प्रदेश सभा सदस्य ११० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डल रहेको छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन आचारसंहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ ।

राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि एमालेका रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

कमेन्टहरु