पश्चिम नवलपरासीमा सशस्त्रको गोली लागि घाइते युबकको उपचारको क्रममा बुटवलमा मृत्यु


बुटवल । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली लागेर घाईते भएका युबकको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी)बाट भारततर्फ जादै गरेका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।
त्यही निहुमा ५/७ जनाको समूहमा आएका युबाहरुले केही समय पछि ५०/६० जनाको समूह लिएर आएका स्थानीयहरुले सशस्त्र प्रहरी माथि ढुंगा मुढा प्रहार गरे पछि सशस्त्र प्रहरीले गोली चलाउदा घटना हुन पुगेको सशस्त्र प्रहरी गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन ।
सशस्त्र प्रहरीले भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो । तर स्थानीयहरुको भिड अझ उग्र हुँदै सशस्त्र प्रहरी माथि आक्रमणमा उत्रिए पछि बाध्य भएर १ राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त घटनामा गोली लागेर घाईते भएका प्रतापपुर गाउँपालिका – ६ का २३ वर्षिय अविनाश राजभरलाई शहिद स्मृती अस्पताल चौपाता नवलपरासीमा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको बुटवल सिटी अस्पतालमा मृत्यु भएको हो ।























