प्रतापपुर बैदौलीस्थित ईन्द्रजित यादवको घरमा लुकाईछिपाई राखेको अबैध सामान बरामद


नवलपरासी, साउन ३१ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ५ बैदौलीबाट अवैध मालसामान बरामद भएको छ । प्रहरीले स्थानीय ईन्द्रजित यादवको घरबाट भन्सार छली ल्याएको अवैध मालसामान लुकाईछिपाई राखेको अवस्थामा बरामद गरिएको हो ।
प्रहरीले दाँत माझ्ने डावर मन्जन ६९ कार्टुन, ग्लो एण्ड लब्लि १२ कार्टुन र सानो कालो मटर ३० केजीको ६३ बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार उक्त मालसामानको अन्दाजी मूल्य ४,६८,२०० रुपैयाँ बराबरको रहेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा १५ जनाको प्रहरी टोली, वि.ओ.पि. सशस्त्र प्रहरी बल क्याम्प गुठीप्रसौनीबाट सहायक प्रहरी निरीक्षक सन्तोष सापकोटाको कमाण्डमा खटिएको टोली र राजस्व अनुसन्धान विभाग बुटवल रुपन्देहीबाट खटिएको संयुक्त टोलीले यादवको घरमा खानतलासी गर्दा उक्त मालसामान बरामद गरेको हो ।
बरामद गरेको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग बुटवल पठाईएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।























