गण्डकी प्रदेश, बाढी/पहिरो

कागबेनीमा बाढीको बितण्डा, दुई दर्जन घर बाढीले बगायो

नवलपुर टुडे
२०८० साउन २९ | बिहान ०७:०४ बजे

जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ। कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको हो।अविरल वर्षासँगै  गएरातीको ठाँडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए। 

यसैगरी कागबेनी खोलामा आएको बाढीलेधार्मिक श्रद्धास्थल, धर्मशाला, मन्दिर समेत बगाएको छ। बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए। अचानक आएको बाढीले कागबेनीमा सञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।

बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ। कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।

कागखोला बाढीको बितण्डाले कागबेनीको तटीय बस्ती रहेको स्थान कुरुप बनाइदिएको छ। मुस्ताङका प्रजिअ अनुप केसीले काबगेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको बताए। उनले बाढीले पुर्‍याएको क्षति विवरण संकलन गर्ने तयारी भइरहेको र सुरक्षा निकाय  र सरोकारवाला टोली उद्धारका लागि प्रस्थान गरेको बताए। 

कमेन्टहरु