नवलपरासीमा चक्कु प्रहार गरी लुटपाट


नवलपरासी, साउन १८ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – २ भक्सिपुरमा एक पुरुषलाई चक्कु प्रहार गरी लुटपाट गरेका छन् ।
भक्सिपुरको हरपुर मा.वि. पछाडी रहेको रामजानकी मन्दिरमा बिगत २ बर्ष देखी पुजारीको काम गर्दै आएका अन्दाजी ५५ वर्षीय जयसराज पाण्डेलाई अपरिचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरी लुटपाट गरेका हुन् ।
उक्त व्यक्तिले जयसराजलाई घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ । सो घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेड क्वाटर बेलासपुरबाट प्रहरी नायब निरीक्षक पिंकल बिकको कमाण्डमा ३ जनाको टोली र ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक मेघनाथ चापाँगाईको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएका थिए ।
प्रहरीले घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल परासीमा पठाईएको छ । घाइतेको बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने मानिसको खोज तलास तथा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।























