लुम्बिनी प्रदेश, स्वास्थ्य

बुटवलमा ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने

नवलपुर टुडे
२०८० साउन १७ | मध्यान्ह ०८:०४ बजे

बुटवल । बुटवल उपमहानगरपालिकाले ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला सहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको छ । छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् ।

बुटवल उपमहानगरपालिकामा तत्काल संक्रमितको तथ्याङ्क एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले  जानकारी  दिए ।

रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताए पनि बुटवलमा अहिलेसम्म आधिकारिक रुपमा संक्रमित फेला परेका छैनन् । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सन्चालन गरी संक्रमण फैलिन नदिनतर्फ ध्यान दिने बताए ।

उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधोपचारको व्यवस्था गर्ने बताए ।

कमेन्टहरु